News

त्रिविमा अख्तियारको छापा, भर्ना सम्बन्धी कागजपत्र नियन्त्रणमा

त्रिविमा अख्तियारको छापा, भर्ना सम्बन्धी कागजपत्र नियन्त्रणमा

काठमाडौं । कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगका एक अधिकारीले बताए । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेको थियो ।

 

मिलेमतोकै आधारमा नतिजा प्रकाशन गरिएको आशंका गरिएको छ । चलखेलका आधारमा कर्मचारी भर्ना गर्न लागेको उजुरी परेपछि अख्तियारले एक महिनादेखि छानबिन गर्दै आएको थियो । त्रिवि शिक्षा आयोगले लिएको लिखित परीक्षामै चलखेल गरेको अख्तियारको आशंका छ । अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिई कागजपत्र अध्ययन गरेर आयोगका पदाधिकारीको बयानसमेत सुरु गरेको जनाएको छ । लोकसेवा आयोगको जस्तो डबल कोडिङ सिस्टम नहुँदा त्रिवि सेवा आयोगको कर्मचारी भर्नामा चलखेल हुँदै आएको आरोप लागेको छ । त्रिविभित्रका अन्य आर्थिक अनियतिताबारे समेत उजुरी परेको र छानबिन भइरहेको आयोग स्रोत बताउँछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कर्मचारी भर्ना अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रिभुवन विश्वविद्यालय

विशेष