१ सय ३० वर्ष पुरानो गढी संरक्षण
डडेल्धुरा जिल्ला सदरमुकाम अवस्थित १ सय ३० वर्ष पुरानो इतिहास बोकेको पुरातात्विक अमरगढी किल्ला जीर्ण बन्दै गएपछि स्थानीय वासिन्दा संरक्षणमा जुटेका छन् ।
वि.स.१९४७ मा बनेको अमरगढी किल्लाको संरक्षणका लागि स्थानीयले स्थानीय सरकार र सरोकारवालाहरु संग समन्वय गरिरहेका छन् । सुुदूरपश्चिम प्रदेशको केन्द्र भाग तथा ७ पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको अगरगढी नगरपालिका ५ खलंगा अवस्थित अमरगढी किल्लाको ऐतिहासिक महत्व छ । यो किल्ला समुद्री सतहबाट लगभग ६५ सय फिट उचाईमा रहेको छ ।
नेपालका सय पर्यटकीय क्षेत्र मध्ये छनौटमा परेको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । २०५४ सालमा नगरपालिका स्थापना हँुदा यसै किल्लाको नामबाट नामाकरण भएको थियो । कुरुप बन्दै गइरहेको किल्ला स्थानीय सरकार आइसकेपछि संरक्षण थालिएको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनु भयो ।
किल्ला संरक्षणका लागि अमरगढी किल्ला पर्यटन पूर्वाधार विकास समिति गठन भएको छ । आवश्यक बजेट प्राप्त भएकाले अब कुनै समस्या नभएको जानकारी अमरगढी किल्ला पर्यटन पूर्वाधार विकास समिति अध्यक्ष प्रविण जैरुले जानकारी दिनुभयो ।
माओवादी द्वन्द्वअघि बन्द यो किल्ला अहिले सर्वसाधारणका लागि खुल्ला छ । देशकै ऐतिहासिक धरोहर तथा जिल्लाको परिचय बोकेको यो थलो संरक्षणमा अविलम्ब काम अघि बढ्न जरुरी छ ।