अबदेखि तलबको दश प्रतिशत बाबुआमाको खातामा जम्मा गर्नुपर्ने
काठमाडौँ । हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बाबाआमाको खातामा जम्मा गरिदिने गरी सरकारले कानुनी व्यवस्था गर्न लागेको छ । ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको १४ औँ विश्व चेतना दिवसको अवसरमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यस्तो जानकारी दिनु भयो ।
सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो । ज्येष्ठ नागरिकहरुमाथि आफ्नै सन्तानले अपहेलना गरेको पाइएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक उनीहरुका वृद्ध बुबाआमाको खातामा पनि जम्मा गरिदिनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको मन्त्री थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।