मगर समुदायको भूमे पर्व सुरु
काठमाडौँ । हरेक वर्षै असार १ गतेदेखि मनाईने मगर समुदायको भूमे पर्व सुरु भएको छ । रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहित देशका विभिन्न जिल्लाहरुमा यो पर्व मनाउने गरिन्छ । काठमाडौंँमा पनि यो पर्व मनाइएको हो । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भएको पर्वमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन सहभागी हुनुभएको थियो ।
भुमे पर्वका अवसरमा बाजा फुकाउनुका साथै भूमे नाच नाचसमेत प्रस्तुत गरिएको थियो। यो पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याईसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो पर्व मनाउने प्रचलन छ ।
परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने चलन छ ।