News भिडियो

'माउन्ट एभरेस्ट'को काखमा भारतीय दूतावासले मनायो योग दिवस फोटो/भिडियो

'माउन्ट एभरेस्ट'को काखमा भारतीय दूतावासले मनायो योग दिवस फोटो/भिडियो

काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस 'सगरमाथाको काखमा' मनाएको छ। नेपालका  लागि  भारतीय  राजदूत मञ्जीव  सिंह  पुरी  तथा  राजदूतावासका  पदाधिकारीलगायत सर्वोच्च शिखर सगरमाथाको आधार शिविर   सोलुखुम्बु पुगेर पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस मनाएका हुन्।

राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको  प्रवेशद्वार नाम्चे बजारमा योग कार्यक्रमको  आयोजना  गरेको जनाएको छ। दूतावासका अनुसार समुद्री  सतहदेखि  १७ हजार ६००  फिट  उचाइमा  रहेको  सगरमाथाको  आधार  शिविरमा  पहिलो पटक योग दिवस मनाइएको हो।

भारतको  गुजरातका  भरत  शर्मा  तथा  अन्य  पर्वतारोहीहरूले  विश्वकै  सर्वोच्च  शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेका हुन्। शर्माले दुई पटकसम्म सगरमाथाको सफल आरोहणसमेत गरिसकेको दूतावासले जनाएको छ।

योग शिविरको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्त्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना रहेको दूतावासले जनाएको छ।

योग शिविरमा  जिल्लाका  महिला  तथा  युवा समूहका  सदस्यहरू,  खुम्जुङ  र  खुन्दे  खानेपानी  व्यवस्थापन  समिति,  खुम्जुङ  र  खुन्देका  महिला  तथा  युवा समूहको सहभागिता रहेको थियो। सो शिविरमा  सगरमाथा राष्ट्रिय  निकुञ्जका  पदाधिकारी,  एभरेस्ट  भ्यू  होटलका  कर्मचारी  तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार योग दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरूले पनि सहभागीता जनाएका थिए।

यसैगरी, भारतीय दूतावासले आइतबार काठमाडौंको लैनचौरस्थित दूतावासको हातामा योगसबन्धी विशेष कार्यक्रमको पनि आयोजना गरेको छ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगका सम्बन्धमा दिएको सन्देश देखाइएको थियो। उनले सन्देशमा योगको फाइदा र यसको महत्त्वबारे सन्देशमा प्रकाश पारेका थिए।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीको उल्यख्य उपस्थिति रहेको थियो। विद्यार्थीले कार्यक्रममा योगका विभिन्न आशन प्रस्तुत गरेर देखाएका थिए। साथै उक्त कार्यक्रममा योगासँग सम्बन्धित विभिन्न संघसंस्थाले पनि योगका विभिन्न आशन प्रस्तुत गरे।

सोही अवसरमा राजदूत पुरीले योगा सिक्दै गरेका स्कुले विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरे। कार्यक्रममा पाँच सय बढी व्यक्तिहरूको उपस्थिति रहेको भारतीय दूतावासले जनाएको छ। उक्त कार्यक्रमलाई टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ र पतञ्जली योगपिठले सहयोग गरेका हुन्।

 

 

 

 

 

 

 

 

 

योगा भारतीय दूतावास

विशेष