प्रतिनिधि सभा शुन्य समयः लोकसेवा र गुठी विधेयककाे विरोध

प्रतिनिधि सभा शुन्य समयः लोकसेवा र गुठी विधेयककाे विरोध


काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको शुन्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गर्ने काम गरेको भन्दै विरोध गर्नुभयो ।

 

उहाँले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिनुभयो । उहाँले गुठी व्यवस्था आफैमा सम्पदा भएको भन्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।  

 


सांसद सत्यनारायण शर्मा खनालले भु माफिया र नेपाली संस्कृति विरोधीको वहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरित भएको भन्दै सच्याउन बारम्बार सचेत गराउँदा पनि सरकारले वेवास्ता गरेको भन्दै उहाँले संविधानमा उल्लेखित समानुपातिक समावेशी व्यवस्था कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सचेत गराउनुभयो । उहाँले गुठी विधेयकको पनि विरोध गर्नुभयो ।

 


सांसद शान्तिमाया तामाङ पाख्रिनले लोकसेवा आयोगको विभेदकारी विज्ञापन संविधानको मुल्य र मान्यता विपरित भएको भन्दै आगामी दिनमा नवअधिनायवादीको शैली नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विज्ञापन खारेज गरी संविधान अनुसार समानुपातिक समावेशी व्यवस्था अनुसार विज्ञापन गर्न आग्रह गर्नुभयो ।

 


सांसद सीता देवी यादवले लोकसेवा आयोगको विज्ञापनलाई सच्याई समावेशी र समानुपातिक बनाएर प्रकाशन गर्न माग गर्नुभयो । उहाँले सरकारले आफैले बनाएको संविधान मिच्ने काम गरेको आरोप लगाउनुभयो ।

 


सांसद बहादुर सिंह लामाले संविधानको वर्खिलापमा रहेकाले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गर्नुभयो ।

 

सांसद लक्ष्मी परियाले राष्ट्रिय दलित आयोगको पदाधिकारी चयनमा ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

संघीय संसद

संम्बधित खबर

विशेष