News प्रदेश ६

५ सय ९० रोपनी सरकारी अपचलन गर्नेमाथि मुद्धा दायर

५ सय ९० रोपनी सरकारी अपचलन गर्नेमाथि मुद्धा दायर


काठमाडौँ । ५ सय ९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँट गर्नेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जुम्लाको गुठीचौर गाउँपालिकास्थित गुठीचौर भेठा तथा बाख्रा फर्म रहेको जग्गा व्यक्तिको नाममा गर्ने मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख गोविन्द प्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

अख्तियारले न्यौपानेविरुद्ध ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गरेको छ ।
यस्तै मालपोत कार्यालय जुम्लाका तत्कालीन खरिदार विजय शर्मा न्यौपाने, तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यालय गुठीचौरका प्रमुख यमुना कुमार श्रेष्ठविरुद्ध पनि ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

 

अख्तियारले आफ्नो नाममा जग्गा दर्ता गर्ने हरिहर न्यौपानेविरुद्ध २ लाख २५ हजार, मुनिश चन्द्र न्यौपानेविरुद्ध ३ लाख, मायालाल न्यौपानेविरुद्ध ३ लाख, विष्णु न्यौपानेविरुद्ध ४ लाख ९५ हजार, विष्णु ऋषि न्यौपानेविरुद्ध ३ लाख, विष्णुलाल न्यौपानेविरुद्ध ३ लाख, पार्वती न्यौपानेविरुद्ध ५ लाख २२ हजार, नव ऋषि न्यौपानेविरुद्ध ३ लाख, देवेन्द्र प्रसाद उपाध्यायविरुद्ध १ लाख ९९ हजार ९ सय ५० बिगो तथा जरिवाना र कैद सजाय मागदावी गरेको छ ।

 

यस्तै जग्गा खरिद गर्नेहरु जानकी दत्त देवकोटाविरुद्ध ३० हजार, गोमा न्यौपानेविरुद्ध ५ लाख २७ हजार २ सय ५०, केशवराज न्यौपानेविरुद्ध २ लाख २५ र कविदत्त न्यौपानेविरुद्ध ३ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । 

विशेष