News

सुन्दरीजलको माटो बोकेर कांग्रेस कार्यकर्ताले ढोगे कोइरालानिवासको भुइँ

सुन्दरीजलको माटो बोकेर कांग्रेस कार्यकर्ताले ढोगे कोइरालानिवासको भुइँ

विराटनगर । ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे।काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला ८ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए। कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे। उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे।


बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ। यहाँ आइपुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए। कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट थिए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ। मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन्।

 

कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरे। तर, सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ। सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो। यो समाचार नयाँ पत्रिकामा दैनिकबाट लिइएको हो ।

काँग्रेस कोइराला निवास विराटनगर

विशेष