संसदमा सोमबार पनि गुठी र लोकसेवाकै चर्चा
काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभामा सोमबार पनि गुठी विधेयक र लोकसेवाले गत जेठ १५ मा निकालेको कर्मचारी भर्ना विज्ञापनकै चर्चा चल्यो । संसद बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद दिलेन्द्र बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गर्यो । कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
उहाँले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी सरकारले विधेयक ल्याएको दाबी गर्नुभयो । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुन सक्ने तर्फ समयमैँ सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम जिम्मेवार हुनेतर्फ पनि उहाँले सचेत गराउनुभयो । प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिदै आएको भन्दै उहाँले ‘कुटे जस्तो र रोए जस्तो ’सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गर्नुभयो ।
राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उहाँले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गर्नुभयो । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उहाँले आक्रोश पोख्नुभयो । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उहाँले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री । लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ । अब कसको कुरा मान्ने त? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाई गर्या हो आन्दोलन गर्या हो । ”
यता सांसद जुली महतोले गुठी विधेयक देशभरका जात्रा संस्कृति मास्ने होइन भब्य र व्यवस्थित तरिकाले मनाउने व्यवस्था गरेकाले विधेयक पढ्न आग्रह गर्नुभयो । गुठीका नाममा बहुमुल्य जमिन बेचबिखन भएकाले यसको संरक्षण राज्यको दायित्व भएको उहाँको भनाइ थियो ।