प्रतिनिधिसभाले क्षेत्राधिकार मिच्यो : नेकपा सांसद शर्मा

प्रतिनिधिसभाले क्षेत्राधिकार मिच्यो : नेकपा सांसद शर्मा

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक प्रक्रियाअघि नै प्रतिनिधिसभामा विरोध र बहस हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको बताउनुभएको छ । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उहाँले क्षेत्राधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभामा सो विषयमा कुरा उठेको धारणा व्यक्त गर्नुभयो । छलफलमा रहेको विधेयकका विषयमा आन्दोलन गर्नु र सडकमा जानु लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत रहेको उहाको भनाई छ ।  नेता शर्माले राणा र पञ्चायतकालमा बनेका कानून अहिले पनि विद्यमान रहेकाले तिनीहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।  

सरकारले संविधानको भावनानुरुप विधेयक ल्याउन खोज्दा मन्त्रिपरिषद्बाट पारित नहँुदै बाहिर विरोध हुने गरेको भन्दै उहाँले यसमा प्रतिपक्ष पनि  जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । संविधान, प्रक्रिया र विधिलाई प्रतिपक्षले पनि हेक्का राख्नुपर्ने उहाँको भनाइ थियो । 

बैठकमा राष्ट्रियसभामा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले समय माग गर्दै गुठी विधेयकका विरोधमा जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठेको बताउनुभयो । नेता पाण्डेले सरकारले विधेयक ल्याउँदा सरोकार पक्षसँग छलफल नै नगरी ल्याएको आरोप लगाउँदै जनताको चाहनालाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुुभयो । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक असार १० गते अपराह्न १ बजे बोलाइएको छ । 

राष्ट्रियसभा विधेयक नेता दीनानाथ शर्मा

संम्बधित खबर

विशेष