News

कांग्रेसले बालहठ देखायो, विकासका गतिविधि नरोकौँ : प्रधानमन्त्री 

कांग्रेसले बालहठ देखायो, विकासका गतिविधि नरोकौँ : प्रधानमन्त्री 

हरि न्याैपाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले भन्दा पहिले बोल्न पाउनुपर्छ भन्ने विषय कांग्रेसको बालहठ भएको बताउनुभएको छ । सिंहदरवारमा आज विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री भन्दा अगाडि बोल्न समय माग गर्नु बालहठ भएको टिप्पणी गर्नुभयो ।

 

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भन्नुभयो –‘प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन । पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो,’

प्रधानमन्त्रीले लोकतान्त्रिक शक्तिहरु नै देशको अवस्था विथोल्न लागेको बताउनुभयो । विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रिवादी, संकीर्णवादी चरित्र देखिएको उहाँको भनाइ छ । ‘पछिल्लो समय हामी लोकतान्त्रिक शक्ति एकजुट भयौं, उपलब्धि हासिल ग-यो । यो भनेको फलानै सरकारमा जानुपर्ने अरु बाहिरै बस्नुपर्ने भन्ने न्याय पक्कै होइन ।’ उहाँले बताउनुभयाे । 


प्रधानमन्त्री ओलीले अहिलेको सरकार देशप्रति, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय हितप्रति सचेत रहेको बताउनुभयो। ‘यो भनिएको मात्र होइन, गरिएको काम हो र राखिएको अडान हो । अलिहेको सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको मात्र होइन । आन्दोलनको लामो श्रृंखलमा अग्रभागमा संघर्षको साक्षी हो । परिवर्तन साकार पारेर आएको सरकार हो ।’ उहाँले बताउनुभयो । 


सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक हकप्रति सजग रहेको भन्दै प्रेस स्वतन्त्रता, आवधिक प्रेस, मानवअधिकार प्रति प्रतिवद्ध रहेको बताउनुभयो ।  समृद्धिका काम कसैले रोकेर नरोकिने भन्दै शासन र विकास मुल मन्त्रभन्ने आत्मसातका साथ सरकार अघि बढने बताउनुभयो । 

 

प्रधानमन्त्रीले २०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनाएको बताउँदै गुठीलाई प्राधिकरणमा लैजान खोजिएको स्पष्ट पार्नुभयो ।  संस्कृतिको संरक्षण गर्नका लागि विधेयक ल्याउन लाग्दा उल्टो र भ्रमपूर्ण कुरा भएको उहाँको भनाइ छ । 
सम्पदाहरु सुरक्षित होउन् भन्ने हाम्रो हेतुले विधेयक ल्याउँदा भ्रम फैलाइएको आरोप लगाउनुभयो । 

 

सरकार विधेयकलाई लिएर पछिल्ला दिनमा माइतीघर मण्डलामा हुने गरेका विरोधप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले विधेयकमाथि छलफल नै नगरी माइतीघरमा विरोध गर्ने गरिएको टिप्पणी गर्नुभयो ‘एउटा विधेयक बन्यो माइतीघर मण्डला, अर्को बन्यो माइतीघर मण्डला, माइतीघर साँच्चिकै माइतीघर रहेन । जसो गरेपनि अनवरत आन्दोलन मात्र हुने ? ’ प्रधानमन्त्रीेले छलफलका लागि सरकार सदैव तयार रहेको भन्दै गुनासा भए वार्ताको टेबलमा आउन आग्रह गर्नुभयो । 

विशेष