News

गुठीको जग्गामा १५ तले भवन, सरकारी निकाय माैन

गुठीको जग्गामा १५ तले भवन, सरकारी निकाय माैन

काठमाडौं । गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौँ रुपैयाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ। काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो। सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले १५ तले भव्य भवन बनाएर छाया सेन्टर सञ्चालन गरेका छन्। 

 

स्थानीय बासिन्दाले पटक–पटक आन्दोलन गर्दासमेत कुनै सुनुवाइ हुन सकेको छैन। विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत दिइसकेको छ। पाण्डेकी आमा छायादेवीको नाममा निर्माण गरिएको सो केन्द्रले करिब १२ रोपनी क्षेत्रफल ओगटेको छ। सो भवनको स्वामित्व तीन जनाको रहेको छ।

 

भवनमा करिब ३० व्यक्तिको लगानी छ। ‘हामीले गुठीको जग्गाको भवन निर्माण गर्ने क्रममा जग हाल्दादेखि आन्दोलन गर्‍यौँ, अहिले पनि हाम्रो आन्दोलन जारी छ । तर जग्गा संरक्षण गर्ने विषयमा राजनीतिक दलका नेता र सरकारी निकायले कुनै चासो नदिएपछि समस्या परेको छ,’ भगवान बहालका स्थानीय एवं राष्ट्रिय पहिचाल संयुक्त संघर्ष समितिका सहसंयोजक यादवलाल कायस्थले भने। यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

गुठी भवन

विशेष