मनसुन सुरु हुन अझैं केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन आउन अझैं केही दिन कुर्नुपर्ने भएको छ । बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल बल्ल भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।
‘पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन्न भेगमा वर्षा हुन्छ,’ उनले भनिन्, ‘यसले बढेको गर्मीमा केही घटाउने छ । नेपालमा अझै पश्चिमी वायुको नै प्रभाव छ । त्यो हटेर दक्षिणपूर्वी वायु यहाँ आउनुपर्छ । त्यसका लागि वातावरण भने बन्दै गएकाले केही दिनभित्र मनसुन नेपाल छिर्ने छ ।’
मनसुनअघिको अहिलेको वर्षा भने पश्चिमी वायुबाट भइरहेको छ । विभागले जारी गरेको मौसमी जानकारी अनुसार सोमबार देशका पूर्वी भूभाग, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भयो ।