पेचिलो बन्दै राजनीतिक घटनाक्रम, प्रधानमन्त्री परामर्शमा, आज पत्रकार सम्मेलन गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा लाग्नुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरुसँग प्रधानमन्त्रीले परामर्श गर्नुभएको हो ।
प्रधानमन्त्रीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघि देखि उठाउदै आएका विभिन्न विधेयक लगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदन देखि सडकसम्म भएको विरोध लगायत विषयमा नेताहरुसँग परामर्श गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै नेताहरुसंग परामर्श गर्नका लागि उहाँ सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुभएको थियो ।
आजै पत्रकार सम्मेलन गर्ने
प्रधानमन्त्रीले आजै पत्रकार सम्मेलन गर्नुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । पत्रकार सम्मेलन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुनेछ । आजको संसदमा सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सम्बोधन गर्न अवरोध गरेको थियो ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन भन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेको थियो । कांग्रेसले प्रधानमन्त्रीले भन्दा आफुहरुले पहिला समय मागेको र प्रतिपक्षी दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ भने सत्तारुढ दलका नेताले कांग्रेसले गलत संसदीय नजिर बसाल्न खोजेको टिप्पणी गरेका छन ।