News

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ। आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना मेनेजर प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो। ‘पाइपलाइन बिछ्याउने काम सम्पन्न गरेर प्रेसरमा पानी पठाएर टेस्टिङ गरेका छौं,’ यादवले भने, ‘डबल÷त्रिपल प्रेसरमा पानी पठाउँदा पनि पाइपलाइन सफल भयो।’ पाइप फुट्न सक्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो। ‘१८२ केजी प्रतिसेन्टिमिटर इस्वायरको प्रेसरमा पाइपको हाइड्रो टेस्ट गरेका छौं,’ यादवले भने, ‘अब तेल ल्याउन पाइपको अवस्था रेडी छ।’ पाइप कतै कमजोर भएर फुट्न सक्ने, लिकेज हुन सक्ने भएकाले पानी हालेर परीक्षण गरिएको उनले बताए।

 

भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। १५ महिनाअघि सुुरु भएको मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइप बिछ्याउने परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट इन्धन ल्याउने बाटो खुलेको हो। अब आइओसीका अधिकारीसँग बैठक गरी पाइपलाइनबाट इन्धन ल्याउने भन्ने मिति तय गरिनेछ। पाइपलाइनबाट सबै प्रकारका पेट्रोलियम पदार्थ ल्याउन सकिने भए पनि अहिले डिजेलमात्र ल्याउने योजना रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। पौडेल नेतृत्वको टोली पाइपलाइन परीक्षण अवलोकन हेरेर मंगलबार काठमाडौं फर्किएको छ। ‘पाइपलाइनको टेस्ट सफल भएको छ,’ पौडेलले भने, ‘अब आइओसीसँग बैठक बसेर डिजेल ल्याउने मिति तय गर्छौं।’

 

पाइपाइन नेपालतर्फ अमलेखगन्जदेखि रक्सौलसम्म ३६।२ किलोमिटर लामो छ। पाइपलाइन अमलेखगन्ज, पथलैया, सिमरा, जितपुर, रामपुर टोकनी, पर्वानीपुर, गण्डक हुँदै वाइपासबाट नेपाल भन्सार वीरगन्ज हुँदै शंकराचार्य गेटबाट दक्षिण सिर्सिया नदी किनार हुँदै भारतसँग जोडिएको छ। पाइपबाट प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। अहिले दैनिक २० घन्टा पाइपबाट इन्धन ल्याउने योजना निगमको छ। दैनिक ४८ लाख लिटर पेट्रोलियम पदार्थ ल्याउने क्षमता पाइपको छ। भारतले नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ ढुवानी रोकेको थियो। पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेपछि अब उसले इन्धन आपूर्ति रोक्न पाउने छैन। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

पेट्रोलियम पदार्थ

विशेष