अत्यधिक गर्मी बढेपछि ७ सय विद्यालय बन्द
सर्लाही । विद्यालयमा पठनपाठन बन्द गरिएको छ। आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लगतै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए। मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन्। जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा दुई सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको छ।
अधिकतर स्थानीय तहले असार ६ गते शुक्रबारसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भट्टराईले जिल्लास्थित सबै स्थानीय तहले अत्यधिक गर्मी बढेकाले विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिए। अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको लालबन्दी नगरपालिकाका शिक्षा शाखाका संयोजक उपसचिव वासुदेव तिमल्सिनाले जानकारी दिए। तर गर्मी बढेको बहानामा स्थानीय तहले विद्यालय बन्दको निर्णय निकै आलोकाँचो भएको सरोकारवालाले बताएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
विद्यालय बन्द सर्लाही