News

राउटेलाई नागरिकता दिइने, बस्ती हेर्न शुल्क

राउटेलाई नागरिकता दिइने, बस्ती हेर्न शुल्क

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । यो गाउँपालिकाले गएको वर्ष परिचयपत्र वितरण गरेको थियो । त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा यो गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । 

 

यही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा. मानबहादुर विकले बताए। राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा. विकले भने, ‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो ।’ उनले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए । अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् ।  

 

राउटे बस्ती हेर्न शुल्क
बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २० रुपैयाँ, विदेशी नागरिकका लागि ५०० रुपैयाँ, अडियो भिडियो डकुमेन्ट्री मोबाइलका लागि १०० रुपैयाँ, अडियो, भिडियो र क्यामराका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ । 

 

शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको सङ्ख्या घटेको छ । बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताए ।  

दैलेख राउटे समुदाय

विशेष