बल मिच्याईं चल्दैन : देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बुधबारको बैठकमा सभामुखसंग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले विपक्षी दलमाथि सरकारले बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ जहिले पनि हेप्ने काम भएको छ ।
उहाँले भन्नुभयो “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहीँ उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्ने विपक्षीले हो । जवरजस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन । हामी कुनै हालतमा मान्दैनौं ।
कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उहाँले आफुहरुले बोल्नका लागि मात्रै समय मागेको बताउनुभयो ।
उहाँले भन्नुभयो “शेरबहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराइहाल्नुपर्ने । मैले त अरु पनि मागेको छु । ”
उहाँले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो “संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो ? संसदबाट फिर्ता लिनुपर्छ । ”
उहाँले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक , मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिनुभयो । उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रजातन्त्र माथिको आक्रमण भएको टिप्पणी गर्नुभयो । मिडियालाई तर्साउने, धम्काउने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताउनुभयो ।
प्रजातन्त्र र बहुदलीय व्यवस्थामाथिको आक्रमण आफूहरुलाई स्वीकार्य नहुने भन्दै उहाँले सरकारले दबाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा आफूले सेना परिचालन गर्न पाउने गरी व्यवस्था गरिएको भन्दै उहाँले प्रधानमन्त्रीले मातहतका निकायमाथि विश्वास गर्न नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी गर्नुभयो ।
शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल