राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु
काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले सरकारद्धारा प्रस्तावित विभिन्न चार देशका राजदुतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारले प्रस्ताव गरेका अष्टेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सरकारद्धारा प्रस्तावित चार वटै देशका राजदुतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदुतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।