ट्वीटमा मोदीको धन्यवाद ओलीलाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवश सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासो र सक्रियताका लागि धन्यवाद दिनुभएको छ । सरकारकै आयोजनामा योग कार्यक्रम सम्पन्न भएलगत्तै मोदीले ट्वीटमार्फत समकक्षी ओलीलाई धन्यवाद दिनुभएको हो ।
नेपाली भाषामा लेखिएको ट्वीटमा भनिएको छ– ‘योगको विशिष्टतालाई उजागर गर्नुको साथै व्यक्तिगत उपस्थित भई योग दिवश कार्यक्रमलाई सुशोभित गर्नुभएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’
यसअघि प्रधानमन्त्री केपी ओलीले ट्वीटमार्फत नै देशवासीका नाममा शुभकामना दिनुभएको थियो । ओलीको शुभकामना यस्तो छ– ‘प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् ।’
संयुक्त राष्ट्रसंघ महासभाले भारत सरकारको प्रस्तावमा जून २१ लाई विश्व योग दिवसको रुपमा स्वीकृति प्रदान गरेको थियो । भारतको प्रस्तावलाई नेपाल सरकारले तत्काल समर्थन जनाएको थियो ।