कर्णालीमा बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार
काठमाडौँ । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएका सबैको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको हो । हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि बुधबार खार्पुनाथ गाउँपालिकाले बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो ।
१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।
जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।
१० हजार किरिया खर्च
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार किरिया खर्चस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै असार १५ गते गाउँपालिका भवनमा शोकसभा आयोजना तथा गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा दिइने भएको छ ।