भारतीय प्रधानमन्त्रीको योग मोहः अब गाउँ गाउँमा योग
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी योग दिवसका प्रणेता मानिन्छन् । ५ औँ अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा झारखण्डमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले योगलाई दैनिक जीवनमा पालना गर्न आग्रह गर्दै योग शहरदेखि गाउँ गाउँसम्म लैजानुपर्ने बताए ।
भारतीय प्रधानमन्त्रीको मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने गरेको छ । यस पटकको ५ औँ योग दिवसको नारा ‘मुटुको सुरक्षाका लागि योग’ भन्ने रहेको छ ।
मोदीले सेप्टेम्बर २७, २०१४ मा राष्ट्रसंघको महासभामा भाषण गर्ने क्रममा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावमा राष्ट्रसंघले ११ डिसेम्बर २०१४ मा अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो ।