पत्रकारले बुझाए हस्ताक्षर
काठमाडौँ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौँमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो ।
प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत विधेयक फिर्ताका लागि दवाव दिन हस्ताक्षर सरकारलाई बुझाइएको पोखरेलले बताउनुभयो । महासंघले विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो ।
सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो । महासंघले विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।