News खेल

प्रधानसेनापति पुरुष भलिबल : आर्मीसँगै प्रदेश एक र तीनको विजयी सुरुवात


काठमाडौँ । त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नेपाली सेनाको लगनखेलस्थित  शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित ग-यो । आर्मीले सुदुरपश्चिममाथि २५–१०, २५–१९ र २५–११ को सेटमा जित निकालेको हो ।


यस्तै प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ ले पनि विजयी सुरुवात गरेका छन् । प्रदेश १ ले प्रदेश २ लाई २३–२५,२५–१९,२५–१९ र २५–१५ को सेटमा पराजित ग-यो । अर्को खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि १८–२५, २५–१७, २५–१७ र २६–२४ को सेटमा हरायो । नेपाली सेनाको आयोजनामा सुरु प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 


लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । 

विशेष