News

गुम्म परेको हलको कुर्सीमा बसाएर योग अभ्यास गराउँदैछ सरकार 

गुम्म परेको हलको कुर्सीमा बसाएर योग अभ्यास गराउँदैछ सरकार 

काठमाडौं । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा शुक्रबार बिहान मानिसहरु खचाखच छन् । अन्तर्राष्ट्रिय योग दिवस मनाउन बोलाइएका पाहुनाहरु सबैलाई टिसर्ट पनि बाँडिएको छ । कार्यक्रमको नाम छ, ‘योगाभ्यास तथा प्रवचन कार्यक्रम’ । 

 

सभागृहको हलमा मानिसहरु खचाखच भएका कार प्राकृतिक सफा हावा छैन । मानिसहरु सबै आ आफ्नो कुर्सीमा बसेका छन् । कुर्सी नपाएकाहरु उभिएका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन् । 

 

योगाभ्यास पनि गराउन आयोजकले सभा गर्ने हल छनोट गरेर मान्छे बोलाएको छ । अब यस हलमा केही बेरमा योगाभ्यास शुरु हुन्छ । कुर्सीमा बसेकाहरु बसिबसी योग गर्ने छन् । उभिएकाहरु उभिएरै प्राणायाम गर्ने छन् । सुतेर गर्नु पर्ने, पलेटी कसेर गर्नुपर्ने योग पनि अब कुर्सीमै बसेर हुनेछ ।

जुनसुकै दिवस वा पर्वमा पनि र्याली नै गर्नुपर्ने पुरानै रोग हो । योग दिवस खुला मैदानमा योग गरेरै मनाए पनि हुने हो । तर शान्तिबाटिकाबाट सभागृहसम्म र्याली गरेर आजको योग दिवस आधाउधि मनाइ सकिएको छ । 

विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजक रहेको योग दिवसको यो कार्यक्रमलाई स्वास्थ्यसँग अलग गर्ने प्रयत्न भएको  जस्तो देखिन्छ । योग भन्नु नै स्वास्थ्य हो । यो कार्यक्रम त स्वास्थ्य मन्त्रालयले गर्नु पर्ने होला तर प्रविधि मन्त्रालयलाई यसको जिम्मेवारी दिइएको छ । 

 

नेपालमा परमाणविक भट्टी चाहिन्छ भन्ने शिक्षामन्त्रीसमेत कार्यक्रममा सहभागी छन् । कार्यक्रममा सहभागी हुन भारतीय राजदूत मञ्जिभ सिंह पुरी,  विवादास्पद ओशो सन्यासी अरुणकुमार सिंह आदि सभागृह पुगिसकेका छन् । 
 

विशेष