News

४ वर्षमा पनि पूरा भएन कलंकी–नागढुंगा सडक

४ वर्षमा पनि पूरा भएन कलंकी–नागढुंगा सडक

काठमाडौं । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । ४ वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन । ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् । १८ मिटर चौडा सडकको दुवैतर्फ दुई–दुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ ।

 

पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन । कलङ्की चोकदेखि तीन सय मिटर तलसम्म कालोपत्रे, पेटी तथा मेडियन निर्माण सबै बाँकी छ । ढुङ्गेअड्डादेखि नैकापसम्म पेटी क्षेत्र छुट्याएर कालोपत्रे गरिए पनि मेडियनको काम ढुङ्गेअड्डामा मात्र गरिएको छ । नैकापदेखि बल्खु खोलापुलसम्म साविककै सडक क्षेत्रफलमा कालोपत्रे गरिएको छ । सडकपेटी मेडियन निर्धारण हुनै सकेको छैन ।

 

बल्खुखोला पुलदेखि सतुङ्गलको बजारनजिक बागेश्वरी अस्पतालसम्म भने सडक करिब करिब तयारी अवस्थामा पुगेको छ । केही स्थानमा सडक पेटीलाई अन्तिम रूप दिनमात्र बाँकी छ । बजार क्षेत्रमा भने सडक विस्तारको काम हुन सकेको छैन । वर्षात्को भेल व्यवस्थापनमा स्थानीयसँग समझदारी हुन नसक्दा यो क्षेत्रमा ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । समस्या समाधानका लागि पहल भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कलङ्की–नागढुङ्गा सडक

विशेष