रसुवागढीको सुरुङबाट सबै कामदारको सकुशल उद्धार
काठमाडौं । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिए ।
उनले सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताए । उनले आफूसहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रम जारी रहेको बताए । बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको समेत जानकारी दिए । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार राति सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।
रसुवा रसुवागढी जलविद्युत सुख्खा पहिरो