अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।
जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्ताव नेपालका तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नु भएको थियो । यो प्रस्ताव विश्वका धेरै देशले समर्थन जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।
नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भइरहेको छ ।
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले लाखौं मानिस विभिन्न रोगको सिकार भैरहेका छन् ।
योगले मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ ।