धनकुटाको चुलिबनमा प्याराग्लाइडिङ
पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा ईटहरीको कोसी एडभेन्चर प्रा.लि.ले उडान थालेको हो ।
बुधबार धनकुटा नगरपालिका–७ चुलिबन डाँडाबाट याक्चानाघाटसम्म गरिएको उडान सफल भएको छ । परीक्षण सफल भएपछि अव व्यावसायिक रुपमा नियमित उडान गरिने कोशी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । उनका अनुसार प्याराग्लाइडिङसँगै पर्यटकले र्याफ्टिङसमेत गर्न पाउने व्यवस्था मिलाइनेछ ।
प्याराग्लाइडिङ अवतरण गर्ने स्थान याक्चानाघाट हो । त्यहीँबाट तमोर नदीमा र्याफ्टिङ गर्ने व्यवस्था पनि मिलाइने छ । चुलिबनबाट पाइलट राम लिम्बूको साथमा पहिलो पटक प्याराग्लाइडिङ गरेका स्थानीय शिक्षक नवीन केसीले धनकुटाको आकासबाट रमणीय दृश्यावलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
गत बर्ष पनि चुलीवनबाट परीक्षण उडान गरिएको भएपनि प्रतिकूल मौसमका कारण सफल हुन सकेको थिएन । तर, यसपटक सफल उडान भएसँगै यसले व्यावसायिक रुप पाउने भएको हो । प्याराग्लाइडिङका कारण धनकुटाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘धनकुटाबाट प्याराग्लाइडिङ सुरु हुनु खुशीको कुरा हो ।’ उनले भने– ‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ ।’