एक वर्ष पनि टिकेन रोल्पामा कालोपत्रे
शहीदमार्ग सडक आयोजना अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक खण्ड कालोपत्रे भएको एक वर्ष नवित्दै कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्न थालेको छ । निर्माण कम्पनीको लापर्बाहीले गुणस्तरहीन काम हुँदा खाल्डाखुल्डी परी यात्रामा सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ ।
करिव ३२ किलोमिटर सडक खण्ड कालो पत्रे गर्न काम सुरु गरेको ५ वर्ष पछि बल्ल काम सम्पन्न गरेपनि काम सम्पन्न भएको एक वर्षमै सडकमा खाल्डाखुल्डी पर्न थालेको हो । निर्माण कम्पनीको लापरबाहीले अत्यन्तै ढिला गरी कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो तर एक वर्षमै कालोपत्रे उप्कन थालेपछि लामो समयदेखि हिलो र धुलोका कारण हैरान भएका स्थानीय फेरि उही समस्या भोग्नुपर्ने हो कि भन्ने आशंकामा छन् ।
एक्जीम बैंक अफ इन्डियाको सहयोगमा २०७१ जेठदेखि सुरु भएको सडक कालोपत्रे गर्ने कामको जिम्मा सील प्यासीफिक जेभी निर्माण कम्पनीले लिएको थियो । कम्पनीले ४० करोड रुपैयाँमा जिम्मा लिएको शहिदमार्ग कालोपत्रेको काम ४ वर्ष ढिलोगरी केहि महिनाअघि मात्र सम्पन्न गरेको थियो । बल्लतल्ल कालो पत्रे भएको सडक जीर्ण बन्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।