योग सन्देश : अल्छी जीवन, रोगी जीवन
भारतस्थित पतञ्जलि आयुर्वेदका कार्यकारी निर्देशक आचार्य बालकृष्णको गृह जिल्ला स्याङजामा पनि योग दिवश भव्यतापूर्वक मनाइएको छ । यसै अवसरमा पतञ्जलि योग समिति स्याङ्जाले विहान वालिङमा प्रभातफेरी गर्नुका साथै विशेष योग साधना शिविर सम्पन्न गरेको छ । पतञ्जलि योगपीठ वालिङमा भएको कार्यक्रममा योगका विविध विषयमा प्रवचन सहित योग शिविर संचालन गरिएको थियो ।
विभिन्न रोगबाट बच्न र निरोगी जीवन जिउनका लागि योग निक्कै फलदायी हुने विश्वास स्याङ्जाबासीले लिँदै हरेक दिन पीठमा योग गर्दै आएका छन् । तनाव, रोग र शोक जस्ता विषयबाट मुक्ति पाउन नित्य योग साधना यहाँका स्थानीय सधैं जुट्ने गरेका छन् । पीठमा दैनिक विहान ५ वजेबाट ७ वजे सम्म नित्य योग साधना सञ्चालन हुदै आएको छ ।
विहान दुई घण्टा योग साधानामा सहभागी हुँदा दिनभर निक्कै उत्साह थपिने भएकाले पनि योग गर्नु फलदायी रहेको सहभागीहरुले बताएका छन् । विश्व योग दिवसको अवसरमा पतञ्जलि योगपीठ वालिङबाट शुरु भएको प्रभातफेरी कार्यक्रमले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । विभिन्न नारा सहितका प्लेकार्ड बोकेर सन्देशमूलक तवरले योग गरौ, निरोगी बनौ, स्वास्थ्य रहन योग गर्न नछुटाउँ, योग गरौ, अरुलाई पनि सिकाउँ, अल्छी जीवन, रोगी जीवन भन्ने नारा लगाएर बजार परिक्रमा गरिएको थियो ।