दुई तिहाईको दम्भ नदेखाउन पूर्वप्रधानमन्त्री भट्टराईको चेतावनी  

दुई तिहाईको दम्भ नदेखाउन पूर्वप्रधानमन्त्री भट्टराईको चेतावनी  

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिनुभएको छ । 
प्रतिनिधिसभा शुक्रबारको बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिनुभएको हो । सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दीगो नहुने तर्फ सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “फलेको हाँगो झुक्छ । तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसैले दम्भको प्रदर्शन गर्ने होइन । मतादेश दिगो नहुन पनि सक्छ । छिमेकी पश्चिम बंगालमा ३४ बर्ष सम्म बामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरणलाई विर्सन हुदैन । ७० बर्ष सम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको र त्यहाँ अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न कठिन भइरहेको अवस्था हामीले बिर्सन मिल्दैन । विनम्रतापुर्वक आग्रह छ । हामीले दम्भ त्यागौ  र झुकांै । र अरुको कुरा सुनौं । ज्ञान बोल्छ । बुद्धि सुन्छ । ”

उहाँले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको  टिप्पणी गर्नुभयो । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उहाँले माग गर्नुभयो ।

उहाँले बजेट विनियोजनको ढर्राले संघीयताको मर्म बुझ्ने दिशा तर्फ सरकार नगएको स्पष्ट भएको बताउनुभयो । संघीय सरकारको व्यवहारबाट अहिले प्रदेश सरकारहरु पनि सन्तुष्ट नदेखिएको भन्दै डा. भट्टराईले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 उहाँले गत बर्ष प्रदेश र स्थानीय तहका लागि २३ प्रतिशत बजेट गएको अहिले २० प्रतिशतमा झरेको टिप्पणी गर्दै प्रदेशमा कार्यालय खुलेपछि केन्द्रका संरचना र कर्मचारी कटौति हुनुपर्नेमा त्यसो हुन नसकेकाले पनि संघीयता बढी खर्चालु रहेछ भन्ने मानसिकता विकसित हुदै गएको उल्लेख गर्नुभयो । 
४७ दशमलव ६ प्रतिशत बहुआयामिक गरिबी भएको प्रदेश नम्बर २ मा जम्मा १५ प्रतिशत मात्रै बजेट जानु न्यायपुर्ण नहुने तर्क गर्नुभयो ।

ठूला र पदिय हैसियत भएका नेताले स्वास्थ्यउपचारका लागि मुलुकबाहिर जाने र राज्यकोषबाट स्वास्थ्योपचार बापतको रकम लिने प्रचलनले राज्य भनेको कामधेनु गाईको रुपमा बुझ्ने गलत प्रवृत्ति बढेकाले सरकारको ढुकुटीबाट रकम बुझ्ने काम बन्द गरिनुपर्ने उहाँको राय छ ।

उहाँले सांसदको हुर्मत लिने र मानमर्दन गर्ने गरी ल्यापटप बाँड्ने काम नगर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

एक अर्को प्रसंगमा उहाँले नेपालस्थित विदेशी राजदुतले शान्ति प्रक्रियाका बारेमा धम्कीपुर्ण भाषा बोलेको भन्दै सबैको साझा विषय भएकाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।

 

डा. बाबुराम भट्टराई दुई तिहाई बहुमत

संम्बधित खबर

विशेष