News

२२ वर्षपछि राष्ट्रपति विद्यालयमा : गुणस्तरीय शिक्षामा जोड

२२ वर्षपछि राष्ट्रपति विद्यालयमा : गुणस्तरीय शिक्षामा जोड

 

सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले शिक्षा व्यावहारिक मात्र भएको बताउँदै अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । यसमा ध्यान दिँदै देशबाट निरक्षरता उन्मुलन गर्नुपर्ने समय आइसकेको उहाँले बताउनुभयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही स्थित श्री जनता माध्यमिक विद्यालयद्वारा आयोजित हिरक जयन्ती समारोह तथा अभिभावक दिवसमा राष्ट्रपति भण्डारीले आफू २२ वर्ष अघि पनि त्यहाँ पुगेको बताउनुभयो । 


 ‘म २२ वर्ष अघि पनि यस विद्यालयमा आएको थिएँ ।  एउटा सर्वसाधारण भएर, अहिले अर्कै जिम्मेवारीमा रहेका बेला पनि आएकी छु । ’ उहाँले बताउनुभयो । ‘ विद्यालयसँग मेरो भावानात्मक सम्बन्ध छ । तपाईहरु ठोस योजना ल्याउनुस म व्यक्तिगत र राष्ट्रपतिको हैसियतबाट गर्न सकिने सबै सहयोग गर्न तयार छु ।’ 

 

चुरे दोहनप्रति चिन्ता
राष्ट्रपति भण्डारीले अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन कार्यप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण तथा वृक्षारोपण कार्यलाई तिब्र बनाउनु पर्नेमा जोड दिनुभयो । चुरे क्षेत्रको अत्याधिक दोहनले खोलाको मुहान सुक्नुका साथै वातावरणमा समेत नाकारात्मक प्रभाव पार्ने भन्दै उहाँले चुरे संरक्षणलाई उच्च प्राथमिकतामा राखी अघि बढेको राज्यलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 


तराई मधेशमा वर्षेनी बाढी, पहिरो र शितलहरले ठुलो धनजनको क्षति हुने गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि सरोकारवाला सबलाई समयमै पहल गर्न र पूर्व तयारीमा रहन ध्यानाकर्षण गराउनुभयो । 
कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले महिलाहरु शिक्षित नभएसम्म मुलुकको समृद्ध हुन नसक्ने भन्दै मुलुक समृद्ध बनाउन शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो । 


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई शिक्षित बनाउने, छोरी जगाउने र महिला हिंसा रोक्न प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानदेखि जन्मिने छोरीको एक लाख रुपैयाँ जीवन बिमा लगायतका नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । यसै आर्थिक वर्षमा प्रदेश २ का १४ हजार छोरीलाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले साइकल प्रदान  गरिने उहाँको भनाइ छ । 

विशेष