पर्दाअगाडि नेलः पर्दापछाडि राजकुमारलाई झैं सम्मान
काठमाडौं । टीकापुर बर्बरताका योजनाकार मानिएका रेशम चौधरीको खुट्टामा नेल लगाएको तस्बीर अहिले सामाजिक सञ्जालमा छाएको छ । सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत भनेका छन्, ‘हिजो निरंकुश राजतन्त्रको ‘आतंकवादी’ र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना पाएका महानुभावहरुले अहिले उही हर्कत उत्पीडित थारु आन्दोलनकारीमाथि गर्नु कति बिडम्वनापूर्ण !’
भाटाले कुटिकुटी, भालाले घोचिघोची एक नाबालाकसहित ९ जनाको बर्बरतापूर्वक हत्या गरेको आरोप प्रमाणित भएर जेल गएका पात्र हुन् रेशम चौधरी ।
रेशम चौधरी एक थारु आन्दोलनकारी हुन्, उनी उत्पीडित वर्गको हितका लागि संघर्ष गर्दैै आएका छन् भन्ने तर्क दिएर उनले गरेको अपराध मिनाहा हुनुपर्छ भन्ने तर्क गर्नेहरु धेरै छन् । हत्या गर्न पाइन्छ तर त्यो राजनीतिको आवरणमा हुनुपर्छ भन्ने मान्यतामा विश्वास राख्ने डा. बाबुराम भट्टराईले रेशमको पक्षमा अभिमत राख्नु नौलो होइन । किनभने उनी आफैं १७ हजार शवका कारक पनि हुन् । उनले राजनीतिको आवरणमा जनता मार्ने हरेकको पक्षमा नबोल्दा १७ हजारको हत्या ‘न्यायोचित हो’ भन्ने प्रमाणित हुँदैन ।
विषय बाबुराम भट्टराईको मात्रै होइन, यो सरकारले रेशमविरुद्ध अन्याय गरेको भन्ने तर्क दिनेहरुका लागि केही तथ्य बुझाउन आवश्यक छ । विशालकाय ज्यान भएर पनि कर्ममा निम्छरो वर्तमान सरकारका लागि आलोचनाका कुनै शब्द पनि उपयुक्त हुँदैनन् । यो सरकार निकम्मा छ भन्ने कुरामा दुई मत छैन । तर, के यो सरकारले रेशमलाई अन्याय गरेको नै हो त ?
हत्याको आरोप लागेर पुर्पक्षका लागि जेलमा रहेकै बखत गएको पुस महिनामा रेशमलाई सरकारले प्रतिनिधिसभामा ल्याएर सपथ खुवाएर अपराधीलाई ‘माननीय’ बनाएर पठाएको थियो । राजनीतिका नाममा जनता मार्नेलाई यसरी माननीय बनाउने चलन दूनियाँमा कतै होला ? जनताले मत दिएर उनलाई चुनाव जिताएर माननीय बनाएका हुन् भन्ने तर्क पनि आउला । प्रचण्ड, बाबुराम, बबन सिंहले चुनाव जित्दा रेशमले जित्नु के अनौठो भयो र । चुनाव जितेर विगतको अपराध पखालिदैन । यि दुई फरक विषय र प्रशंग हुन् ।
सरकारले रेशमलाई अपराधीबाट माननीय बनाउने प्रयत्न मात्रै गरेन । उनको टीकापुरमा रहेको रेडियो फूलबारीमा भएको तोडफोडबापतको क्षतिपूर्ति भन्दै १ करोड ७४ लाख रुपैयाँ दिएको थियो । एफएम रहेको घरको शिशा फुट्दा १ करोड ७४ लाख क्षतिपूर्ति दिने पनि सरकार नै हो ।
सरकारको दयामाया पाउने असाध्यै कम भाग्यमानीमा रेशम पनि पर्छन् । ९ जनाको हत्या आरोप लागेका रेशमको मनोनयन दर्ता खुसुक्क गरिदिने पनि यहि राज्य संयन्त्रका मानिसहरु थिए ।
हत्या आरोपीलाई चुनाव लड्न दिने सरकार, हत्या आरोपीलाई संसदमै ल्याएर सपथ खुवाउने, फूलमाला, खादा ओढाउने पनि सरकार, क्षतिपूर्तिका नाममा हत्या आरोपीलाई लाखौं रुपैयाँ पनि बाँढ्ने सरकार । तर यतिबेला तर्क सुनिएको छ, ‘रेशमविरुद्ध सरकार अमानवीय ढंगले प्रस्तुत भयो ।’
डा. बाबुराम भट्टराईले रेशमलाई मानवोचित व्यवहार नभएको टिप्पणी गरेका छन् । १७ हजारको कलंक निधारमा टाँसेर घाइते अश्वत्थामा झै भौतारिरहेका हाम्रो नेताहरुले मानवीयताको कुरा उठाएको खास सुहाउँदैन । मानवीयताको पाठ बाबुराम भट्टराईबाट सिक्नु पर्ने हो भने सभ्य भाषाको पाठ द्वारिकालाल चौधरीबाट सिक्नु पर्ने हुन्छ । देशप्रेमको पाठ सिके राउतबाट, राष्ट्रिय स्वाभीमानको पाठ लोकराज बरालबाट, सदाचारको पाठ चार्ल्स शोभराजबाट सिक्नु पर्ने अवस्था आउँछ ।
समाचार टिप्पणी