विपद्का घटनामा वृद्धि, दुई महिनामा ६९ जनाको मृत्यु

विपद्का घटनामा वृद्धि, दुई महिनामा ६९ जनाको मृत्यु


काठमाडौँ । देशभर विपद्का घटनामा वृद्धि भएका तथ्याङक सार्वजनिक भएको छ । कमजोर भू–धरातल र विना अध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको हो । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।


नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

 

आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए ।

 

तथ्याङ्कअनुसार दुई महीनाको अवधिमा आगलागीबाट ९९ करोड ३४ लाख ९१ हजार रुपैयाँ, बाढीका कारण एक करोड ९७ लाखर रुपैयाँ, पहिरोबाट १३ लाख ४५ हजार रुपैयाँ, चट्याङबाट २३ लाख १४ हजार रुपैयाँ, जनावरको आक्रमणबाट चार लाख ४० हजार रुपैयाँ र हावाहुरीबाट चार करोड ९० लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

 

विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन् । यस्तै तीन हजार १७५ पुशुचौपाया मरेका छन् भने दुई हजार ५१६ घरमा क्षति पुगेको छ । पाँच सय नौ परिवार विस्थापित तथा दुई अर्ब ५१ करोड एक लाख २७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

 

संम्बधित खबर

विशेष