हवाइजहाजमार्फत पशुपति दर्शन, त्यो पनि निःशुल्क
काठमाडौँ । भारतको राजस्थान प्रदेश सरकारले त्यहाँका ज्येष्ठ नागरिकलाई हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको छ । राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्री विश्वेन्द्र सिंहको अध्यक्षतामा बसेको राज्यस्तरीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो सुविधा दिने घोषणा गर्दै तीर्थयात्रामा जान चाहनेलाई आगामी जुलाई ५ भित्र आवेदन दिन आग्रह गरेको छ । प्रदेशका ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई निःशुल्क तिर्थयात्रामा हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याइने भएको हो ।
राजस्थान सरकारले संचालन गरेको वरिष्ठ नागरिक तीर्थ यात्रा योजना अनुरुप तीर्थमा जानेहरुलाई पहिलो पटक भारत बाहिर पशुपतिनाथको दर्शनमा ल्याउन लागेको हो । राज्य सरकारले ५ हजार नागरिकलाई हवाई जहाज र ५ हजार नागरिकलाई रेलमार्फत विभिन्न स्थानमा रहेको तीर्थस्थलको भ्रमण गराउने लक्ष्य राखेको छ ।
तीर्थ यात्रा योजना अन्तर्गत हवाई मार्ग र रेल मार्गबाट जान पत्रकारका लागि पनि ५/५ प्रतिशत सिट छुट्याइएको छ । यसका लागि पत्रकारको उमेर भने ६० वर्ष वा त्यो भन्दा माथिको हुनुपर्ने छ ।