माइतीघरमा खबरदारी सभा
काठमाडौँ । नागरिक समाजले लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले ल्याएको विभिन्न विधेयकले नागरिकको अधिकार र लोकतन्त्र नै खतरामा परेको भन्दै शनिबार प्रर्दशन गरेका हुन् । उनीहरुले प्रेस र सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने बिधेयक फिर्ता लिन माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘नागरिक स्वतन्त्रताको सम्मान गर’, ‘सुशासनको प्रत्याभूति गर’, ‘प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर’ जस्ता नारा लगाएका थिए । नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेको छ । प्रदर्शनमा सहभागीहरुले आफूहरुको विरोध सरकारमा बस्ने व्यक्तिहरुको लागी नभएको भन्दै सरकारले गरेका केही नागरिक अधिकार विरोधी क्रियाकलापको मात्र भएको बताएका छन् ।
प्रदर्शनमा सहभागीहरुले विश्वविद्यालयमा स्वतन्त्रता कायम गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने, शान्तिपूर्ण रुपमा भेला हुन पाउनुपर्ने अधिकार सुनिश्चीत गर्नुपर्ने लगाएतका माग पनि राखेका छन् ।