प्रधानमन्त्रीलाई झुठप्रसाद र पूर्वप्रधानमन्त्रीलाई छेरबहादुर भनेपछि....
काठमाडौँ । संघीय संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदहरुले एकअर्का दलका नेताहरुको नाम बंग्याएर अभिब्यक्ति दिएका छन् । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले ।
जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झूठको आश्वासन दिने, झूठको खेती गर्ने भएकोले अब उहाँको नाम झूठप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन ।
आफ्नो पार्टीका नेतालाई झुठप्रसाद भनिएपछि आफ्नो पालोमा नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बंग्याइदिए । आफूहरु नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै उनले भने– ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ ?’
अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै रावलले त्यसलाई रेकर्डबाट हटाउन माग गरे । सभामुख महराले ‘विषय गम्भीर’ भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए ।