News

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

काठमाडौं । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

 

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ । तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन ।  

 

सशस्त्र र अनुसन्धान विभागमा अन्योल 
नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ । सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ । रासनभत्ता सममामयिक बनाउन प्रस्ताव गरिएको, तर त्यसबारे कुनै निर्णय भइनसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । ‘पुरानै हिसाबले बजेट आएको छ, तर बढाउन प्रयास भइरहेको छ,’ उनले भने । 
  

कति बढ्यो रासन?
उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् ।  त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाल प्रहरी रासनभत्ता

विशेष