News

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति

काठमाडौं । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन छिट्टै सुरु गर्न नेपाल र चीनबीच सहमति भएको छ । रेलमार्ग निर्माणका लागि बाँकी रहेको प्राविधिक अध्ययनलाई पनि अगाडि बढाइने भएको छ । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग निर्माण अगाडि बढाउनेबारे नेपाली र चिनियाँ प्रतिनिधिबीच असार ६ गते चीनको राजधानी बेइजिङमा उच्चस्तरीय बैठक बसेको थियो । नेपाली प्रतिनिधिमण्डलका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सो रेलमार्ग निर्माण गर्नेबारे छलफल गर्न पाँचौँ बैठक यसै वर्ष मङ्सिर÷पुसमा नेपालमा बस्ने बताए । 

 

प्रस्तावित सो रेलमार्ग निर्माणका लागि प्राविधिक अध्ययनको क्षेत्रमा बाँकी रहेका काम सम्पन्न गरेर मात्र विस्तृत अध्ययन गर्नुपर्ने चिनियाँ पक्षको सुझाव रहेको जानकारीसमेत सचिव कार्कीले दिए । सो रेलमार्ग निर्माणका लागि यसअघि नै प्राविधिक अध्ययन सुरु भइसकेको छ । उनका अनुसार बैठकमा नेपाली पक्षले प्राविधिक अध्ययनभित्रै विस्तृत अध्ययन पनि पर्ने भएकाले सँगसँगै गर्न सकिनेबारे सुझाव दिएको थियो । नेपालको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन महत्वको सो रेलमार्ग निर्माणका लागि गरिने अध्ययन र काम गुणस्तरीय हुनुपर्ने चिनियाँ पक्षको सुझाव छ ।

 

पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा नै विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै सचिव कार्कीले भने, “विस्तृत अध्ययन गर्नुपूर्व केही प्राविधिक विषय छन् । तिनलाई सुल्झाएर अगाडि बढ्दा गुणस्तर र विश्वसनीयता थप बढ्ने छ ।” यस रेलमार्ग निर्माणका लागि चिनियाँ पक्षले यसअघि नै पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी नेपाललाई बुझाइसकेको छ । गत वर्ष मङ्सिर २४ गते चीनले नेपाललाई सो प्रतिवेदन बुझाएको थियो । जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरूले रेल विभागको संयोजकत्वमा प्रस्तावित उक्त रेलमार्गको प्रारम्भिक अध्ययन गरेको थियो । 

 

कठिन भूबनोटका कारण यसको निर्माण जटिल देखिए पनि प्रस्तावित यो रेलमार्ग निर्माण गर्न सकिन्छ भने प्रतिवेदनले देखाएको छ । सचिव कार्कीका अनुसार सो रेलमार्ग निर्माणको पक्षमा नेपाली पक्षबाट भएका कामहरूको चिनियाँ पक्षले प्रशंसासमेत गरेको छ । नेपाली प्रतिनिधिमण्डका सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले चीनको बेइजिङमा सम्पन्न नेपाल र चीनबीच नियमित बैठक बसेको बताउँदै रेलमार्ग निर्माणका लागि बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपाध्यक्ष आन लुसुङको नेतृत्वमा चिनियाँ पक्षको सहभागिता थियो । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

 

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन

विशेष