News

प्रहरीका असईको यौन प्रस्तावले ओखलढुंगाको श्रीचौर तनावग्रस्त

प्रहरीका असईको यौन प्रस्तावले ओखलढुंगाको श्रीचौर तनावग्रस्त

ओखलढुंगा । प्रहरीले महिलालाई दुव्र्यहार गरेपछि ओखलढुंगा स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुखसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् । मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए ।

 

प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् । ‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’ प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताए । प्रहरीले मदिराको तालमा महिलामाथी दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए ।

 

घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि ठूलो संख्यामा महिलाको उपस्थिती छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए । आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । प्रहरी र पीडित महिलालाई राति नै स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

ओखलढुंगा प्रहरी चौकी श्रीचौर

विशेष