News

दुई छोरी भए १२ कक्षासम्म निःशुल्क शिक्षा

दुई छोरी भए १२ कक्षासम्म निःशुल्क शिक्षा

चितवन । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणागरिएको हो । प्रस्तावित नीति तथा कार्यक्रमको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शीर्षकमा यो कार्यक्रम समावेश छ । नगरसभामा प्रस्तुत शिक्षासम्बन्धी कार्यक्रममा सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुद्दाय र अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई आवासीय शिक्षा दिने नगरपालिकाको योजना छ ।

 

अति विपन्न वर्गका परिवारका विद्यार्थीले उत्कृष्ट अंक ल्याई प्राविधिक शिक्षा पढेमा विशेष सहयोग गर्ने नगरपालिकाको कार्यक्रम छ । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले अघिल्ला वर्षहरूमा पनि शिक्षा क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गरेको र यो वर्ष गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा योजना बनाएर लागू गर्ने बताए । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले माडी नगरसभाको उद्घाटन गरेका हुन् । नगरसभामा आउँदो आर्थिक वर्ष ०७६–७७ का लागि पुँजीगत ७४ करोड ११ लाख १५ हजार ३६० र चालू खर्च साढे १९ करोड रुपैयाँ गरेर कुल ९३ करोड ६१ लाख १५ हजार ३६० रुपैयाँबराबरको बजेट पेस भएको छ ।

 

माडी नगरपालिकाले १२ करोड २९ लाख रुपैयाँ आन्तरिक आय गर्ने लक्ष्य राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने भएका कारण माडी पुग्न र बसोबास गर्न अनेक कानुनी र व्यावहारिक कठिनाइ भएको कार्यक्रमका वक्ताले बताए । उनीहरूले निकुञ्ज ऐन, २०२९ का कारण माडीमा विकास हुन नसकेको धारणा राखे । माडी नगरपालिकाका प्रवक्ता रहेका वडा नम्बर ९ का वडाध्यक्ष शिवहरि सुवेदीले मान्छेभन्दा जनावरहरूको जीवन महत्त्वपूर्ण हो भन्ने सोच भएका निकुञ्जका कर्मचारीका कारण माडी समस्यामा पर्दै आएको बताए । यस्तो सोचका कारण माडी चितवन निकुञ्जपारिको अलग्गै नेपालजस्तो विकट बन्न पुगेको उनलेगुनासो गरे । यो समाचार कान्तिुर दैनिकबाट लिइएको हो ।

माडी नगरपालिका स्थायी बन्ध्याकरण

विशेष