News

कर्णालीका महिला अधिकारकर्मीले मागे मेयर चौधरीको राजीनामा 

कर्णालीका महिला अधिकारकर्मीले मागे मेयर चौधरीको राजीनामा 

सुर्खेत । कर्णालीका महिला अधिकारकर्मीले इटहरी उप–महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ ।’ महिलाहरुले राखेको माग सरकारले सुनुवाइ नगरे देशभरिका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन् । अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिइन् ।

 

‘जननिर्वाचित प्रतिनिधिले सार्वजनिक स्थानमै महिलाको अस्मितामाथि दाग लाग्ने खुलेआम अभिव्यक्ति दिने नगर प्रमुख कुर्चीमा बस्न योग्य छैनन्’ अध्यक्ष शाहीले भनिन्, ‘समग्र महिलाको बेइज्जत गरेकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्दछ ।’ सामाजिक, कानूनी र मानवीय अपराध गरेको व्यक्ति जनताको प्रतिनिधि हुन नसक्ने उनको जिकिर थियो । पदीय मर्यादा नाघेर अभिव्यक्ति दिने नगर प्रमुख चौधरी जननिर्वाचित प्रतिनिधि हुन नसक्ने महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि निशा पौडेलले जिकिर गरिन् । यता एकल महिला समूह सुर्खेतका अध्यक्ष शीतलसिंह राठौरले नगर प्रमुखले पदको दुरुपयोग गरेको आरोप लगाइन् ।  

 

नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिकरुपमा बोलेको भिडियो भाइरल भएको थियो । उनको विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन् ।  

महिला अधिकारकर्मी द्वारिकलाल चौधरी इटहरी उप–महानगरपालिका

विशेष