किशोरीलाई काममा लगाइदिन्छु भन्दै यौनधन्दा गराउने २ जना पक्राउ
ललितपुर । ४ जना किशोरीलाई काममा लगाइदिने भन्दै जबर्जस्ती यौनधन्दामा लगाउने २ जना होटेल सञ्चालक पक्राउ परेका छन् । ललितपुर–२, सानेपास्थित हेमकुमारी सिलवालको घरमा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका रामेछापको खाँडादेबी गाउँपालिका–५ स्थायी घर भएका वर्ष ३० का सुजन कार्की र सोही गाउँपालिकाको वडा नम्बर ४ घर भएका वर्ष २४ का रामचन्द्र कार्की पक्राउ परेको महानगरीय प्रहरी परिसरका ललितपुरले जनाएको छ ।
उनीहरुले विभिन्न जिल्लामा पुगेर किशोरीहरुलाई काममा लगाइदिन्छु भन्ने प्रलोभनमा पारी आफ्नो रेष्टुरेण्टमा ल्याएर शारीरिक सम्पर्क गर्न बाध्य पार्ने गरेका थिए । प्रहरीले रेष्टुरेण्टबाट ४ जना किशोरीको समेत उद्धार गरेको महानगरीय प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।