लोकसेवाको विज्ञापन विवाद, आइतबार सुनुवाइ हुने
काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा आइतबार सुनुवाइ हुने भएको छ । लोकेसेवा आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा. खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।
अदालतमा चार रिट
सर्वोच्च अदालतमा लोकसेवाको विज्ञापन विरुद्ध र विज्ञापन रोक्न संसदीय समितिले दिएको निर्देशनविरुद्ध गरी चार वटा रिट परेको छ । राज्य व्यवस्था समितिलाई विपक्षी बनाई दायर रिटउपरको सुनुवाई बुधबार स्थगित भई आइतबारका लागि तोकिएको हो । बुधबार हुने भनिएको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेको कारणले स्थगित भएको जनाइएको छ ।
यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।
आवेदन दिने बढेको बढ्यै
लोकसेवा आयोगका अनुसार स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित गरेको विज्ञापनका लागि तीन लाखभन्दा बढीले आवेदन दिइसकेका छन् । १७ असारसम्म आवेदन दिने समयावधि भएकाले अझै संख्या बढ्न सक्छ । देशभरका ५ सय १५ स्थानीय तहका लागि जेठ १५ गते नौ हजार, एक सय ६१ सिटका लागि लोकसेवाले विज्ञापन गरेको थियो ।