News

गद्दी बैठक खुला गरिँदै

गद्दी बैठक खुला गरिँदै

काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ । हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्रयोजनविहीन अवस्थामा राखिरहनुभन्दा इन्द्रजात्राका दिनबाहेक सर्वसाधारणका लागि खुला गर्नु उपयुक्त हुने बताउँदै भनिन्, ‘आगामी इन्द्रजात्राभन्दा अगाडि अवलोकनका लागि खुला गर्ने योजना बनाएका छौँ ।’

 

गद्दी बैठक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकी सहयोगमा सबलीकरण गरिएको थियो । दुईतले भवनमा सबैभन्दा तल्लो तला खाली छ भने माथिल्लो तलामा गद्दी बैठक छ । कुनै समयमा नेपालस्थित विदेशी राजदूतले गद्दी बैठकमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने गर्दथे । विभिन्न उत्सवमा त्यहाँ पुगेका राष्ट्र प्रमुखहरूको सत्कारदेखि सुरक्षासम्मको प्रबन्ध गृह मन्त्रालयले गर्दै आएकोले अहिले पनि त्यहाँ गृह मन्त्रालयका दुई जना कर्मचारी खटिएका हुन्छन् । गद्दी बैठकमा खटिएका एक जना धोबी र एक जना बैठके दरबन्दीका कर्मचारी गृह मन्त्रालयअन्तर्गतका कर्मचारी हुन् । 

 

हनुमानढोका दरबारका कर्मचारीले प्रयोगमा नरहेको गद्दी बैठक र तल्लो तलाको सरसफाइ प्रत्येक साता गर्दै आएका छन् । गद्दी बैठकको ठीक पूर्वतर्फको भवनमा पहिले तेजारथ र मुलुकी खाना थियो । त्यस अड्डाका प्रमुख नकर्मीले गृह मन्त्रालयले पनि प्रयोग गर्दै आएकाले गद्दी बैठक खुला गर्ने सम्बन्धमा रायका लागि गृहमा पत्राचार गरिएको जानकारी दिइन् । डेढ मिटरभन्दा फराकिलो गारो भएको गद्दी बैठकको तल्लो तलामा राणा र शाहकालीन इतिहाससँग जोडिएका महत्वपूर्ण सामग्री राख्ने योजना बनाइएको छ । घाम नलाग्ने भएकाले तल्ला तला निकै चिसो छ । गारो निकै मोटो भएकाले सबलीकरण गरिएपछि मजबुत नै रहेको भनाइ अड्डाका कर्मचारीको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

वसन्तपुर गद्दी बैठक

विशेष