News

पासाङल्हामु सडकमा ठूला सवारी सञ्चालनमा रोक

पासाङल्हामु सडकमा ठूला सवारी सञ्चालनमा रोक

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्ग सुधार कार्य सुरु भएको छ । सडक जीर्ण भएको र दुर्घटनाको जोखिम बढेका कारण मर्मतको काम सुरु गरिएको हो । डिभिजन सडक कार्यालय नुवाकोटले रसुवा खण्डको बेत्रावती–कालिकास्थान र स्याउबारीदेखि धुन्चे सडकलाई दुई भागमा विभाजन गरेर काम अघि बढाएको जनाएको छ । कालिका गाउँपालिका ३ को ईटपारेमा हिम पाइप कल्भर्ट मर्मत भएको छ भने सडक खण्डमा केही दिन ठूला सवारी साधन सञ्चालन गर्न पाइने छैन् । 

 

रसुवा खण्डमा सुधारको काम सुरु भएसँगै ठूला सवारी साधन नाका जोड्ने छोटो दूरीको मैलुङ्ग स्याफ्रुबेसी सडकमा सञ्चालन हुनेछ । कार्यालयले केही दिनका लागि ठूला गाडीलाई मैलुङ–स्याफु्रबेशी सडक खण्डमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । जिल्लाको कालिका गाउँपालिकाको ईँटपारेमा हिम पाइप कल्भर्ट मर्मत भइरहेकाले बेत्रावती–धुन्चे–बाह्रघुम्तीमा मोटरसाइकल र साना गाडी मात्र सञ्चालनको अनुमति दिएको डिभिजन सडक प्रमुख निरज शाक्यले बताए । 

 

त्यसैगरी स्याउबारीदेखि धुन्चेसम्म सडकमा ग्राभेलको काम सुरु भएको छ । सडक खण्डको विभिन्न स्थानमा यसअघि ढलान गरिएको थियो । कार्यालयले यसअघि पनि सडक सुधार कार्यक्रम अन्तर्गत खाल्डाखुल्डी पुर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउने लगायतका कार्य गर्दै आएको छ । असार मसान्त भित्रै कार्य सक्ने गरी सडक सुधार तथा मर्मत कार्यलाई तिब्रता दिइएको डिभिजन प्रमुख शाक्यले बताए ।

 

राम्चे, ग्राङ, धुन्चे सडक खण्डमा वर्षातको समयमा हुनसक्ने जोखिम न्युनिकरणका लागि खाल्टाखुल्टी पुर्ने सर्पोट वाल लगाउने जस्ता काम भईरहेको छ । भार्खु १२ घुम्ती र सानो भार्खूमा वाल लगाउने काम भएको छ । यसवर्ष स्याउबारी क्षेत्रमा सडक ढलान गरिएको र आगामी वर्ष विभागले महत्वका साथ बजेट विनियोजन गर्ने पनि शाक्यले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।  

रसुवा पासाङल्हामु सडक

विशेष