दैलेखमा सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम

दैलेखमा सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम

काठमाडौं । दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताए । अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उनले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिए । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ । 

डा. सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उनले दिए । जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ । 

यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताए । खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले अहिलेसम्म गरिएको खोज तथा अन्वेषण तथा दैलेखमा पाइएको कच्चा तेलको आधारमा नेपालमा पेट्रोलियम पदार्थ रहेको दाबी गरे । 

'पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन परियोजनाले अहिलेसम्म गरेका भौगर्भिक, भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको तराई, भित्री मधेस र चुरे क्षेत्र पर्वतमाला क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ', परियोजना प्रमुख रजौरेले भने, 'नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको छ ।' यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

पेट्रोलियम पदार्थ

संम्बधित खबर

विशेष