परराष्ट्र सम्बन्ध साझा सरोकारको विषय

परराष्ट्र सम्बन्ध साझा सरोकारको विषय


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयक छलफलमा प्रधानमन्त्री ओलीले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताउनुभयो ।

 

“मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,” प्रधानमन्त्रीले बताउनुभयो । 


नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उहाँले स्पष्ट पार्नुभयो । 

 

नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताउनुभयो । 

संम्बधित खबर

विशेष