विदेश

युरोपमा अचाक्ली गर्मी, फ्रान्समा मात्रै तीनको मृत्यु

युरोपमा अचाक्ली गर्मी, फ्रान्समा मात्रै तीनको मृत्यु

एजेन्सी । युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् ।

शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।

अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ ।

फ्रान्ससँगै जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा जुन महिनामा हुने अहिलेसम्मकै धेरै तापक्रम पुगेको छ ।

स्पेनमा भने यहाँको सरकारले सम्भावित खतराका लागि तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यहाँका विभिन्न ८ प्रदेशलाई ‘रेड अलर्ट एरिया’ को घोषणा गरिएको छ । साथै थुप्रै ठाउँमा ४२ डिग्री सेल्सियससम्म तापक्रम नाघ्नसक्ने अनुमान गरिएको छ ।

यस्तै इटालीको सरकारले पनि १६ सहरलाई संकटग्रस्त क्षेत्रको रूपमा चित्रित गरेको छ ।

गर्मीले मृत्यु

गर्मीका कारण युरोपका विभिन्न सहरमा केहीले ज्यान नै गुमाएका छन् । फ्रेन्च पत्रिका ‘मिदि लिब्रे’ को हवाला दिँदै फ्रान्समा मात्रै तीनजनाको ज्यान गएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यही साता स्पेनमा एक १७ वर्षे किशोर र ८० वर्षे वृद्धको भएको मृत्युको कारण पनि अत्याधिक गर्मी नै हुनसक्ने बताइएको छ । किशोरको खेतमा मृत्यु भएको थियो भने वृद्धको बाटोमा हिँड्दाहिँड्दै ज्यान गएको हो ।

गर्मीकै कारण थुप्रै स्कुलका परीक्षासमेत स्थगित गराइएको छ । मृतकको संख्या यकिन भने छैन । गर्मीसँगै प्रभावित क्षेत्रमा स्वीमिङ पुल, नदी र समुद्री किनारमा मानिसको घुइँचो लाग्न थालेको छ ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पनि हरेक दिन मृत्यु हुनेको संख्या रहेको भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । यूकेमा पनि प्रहरीले सर्वसाधारणलाई गर्मीबाट बच्न सचेत गराएको छ ।

मौसमविद्हरूका अनुसार सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपका विभिन्न सहरमा तापक्रम बढेको हो । अघिल्लो महिनामात्रै चिसो रहेका कतिपय सहरमा पनि जुनमा ह्वात्तै गर्मी बढेको छ । मौसमविद्हरूका अनुसार युरोपका विभिन्न देशमा कायम रहेको तापक्रम अझै बढ्नसक्ने छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

युरोप गर्मी

विशेष